सुर्खेत : लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक सोमबार बेलुकीदेखि खुलेको छ ।
नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समय लागेको थियो । सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाइएको सडक योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन चुनौती भएको थियो । करिब ९५ किलोमिटर लामो सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको सडक हिमपातका कारण अवरुद्ध भएको थियो ।
विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेको थियो । समुद्री सतहबाट चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा हिउँको मात्रा बढी भएकाले सडक खुलाउन कठिन भएको नेपालीले बताए ।
‘नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको थियो,’ उनले भने । ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा बढी हिउँ जमेको आयोजनाले जनाएको छ । सडकमा जमेको हिउँ पन्छाउन जेसीबी प्रयोग गरिएको थियो । सडक योजना कार्यालयले आफ्नै उपकरण, इन्धन र मेसिन अपरेटर परिचालन गरेर सडक खुलाएको नेपालीले बताए ।
सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ ।











