काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा डीआरएस लागू गर्ने जनाएको हो । क्यानका अनुसार डीआरएस प्रयोग भएपछि खेलका क्रममा मैदानी अम्पायरले गरेका निर्णयमा असहमति जनाउने टोलीले त्यसलाई चुनौती दिन सक्नेछन् । त्यसका लागि टोलीले माग गरेपछि सम्बन्धित दृश्य सामग्री हेरेर निर्णयको समीक्षा गर्न सकिनेछ ।
डीआरएसको व्यवस्था लागू भएसँगै प्रतियोगिताको खेल तालिकामा पनि हेरफेर गरिएको छ । संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । त्यस्तै, एक खेल मात्र हुने दिन खेल साँझ ५ बजे सुरु हुने क्यानले जनाएको छ ।
एनपीएलको तेस्रो संस्करण यही ९ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।











