प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

२०८० माघ २६, शुक्रबार

काठमाडौं : सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने छ । सोही दिन राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

दिवसको दिन फागुन ७ गते नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाईं हुने छ । सोही दिन सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकीत व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ७ गते नै सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना हुने छ । उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरुलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन प्रदेशवासीलाई अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गर्ने र सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार