बालकृष्ण खाण निर्दोष छन् भन्ने हो भने सरकारबाट बाहिरिएर न्याय मागौँ : अजयबाबु शिवाकोटी

२०८० श्रावण ४, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले आफ्नो धारणा प्रस्ट पार्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै नेता शिवाकोटीले पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाण प्रकरणमा पार्टीले द्विविधा राखेर सबैलाई भ्रममा पारेको बताए ।

‘हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई प्रहरीले मुद्दा चलाएर अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । सभापतिज्यू, तर यो प्रकरणमा हाम्रो द्विविधा अचम्मको छ, यदि उहाँलाई अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट बाहिरिनुपर्‍यो, होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पुर्‍याउँदा पार्टीले कारबाही गर्नुपर्छ कि पर्दैन ? यसमा कि थुनामा पठाउने सरकार दोषी छ, कि थुनामा रहेका खाण दोषी छन्, यसबारे पार्टीले आफ्नो धारणा प्रस्ट पार्नुपर्छ,’ शिवाकोटीले अघि भने, ‘यदि खाण निर्दोष हुन् भन्ने पार्टीको निष्कर्ष हो भने सरकारबाट बाहिरिएर न्याय माग्न सक्नुपर्छ । नभए सुशासनको हिमायति ठान्ने कांग्रेसले कुनै पनि भ्रष्टाचारीलाई काँध हाल्न मिल्दैन ।’

उनले भ्रष्टाचार वा अन्य कुनै प्रकरणमा परेपछि सम्बन्धित व्यक्ति स्वयम् नै जवाफदेही हुनुपर्ने बताए । उनले केन्द्रीय कार्यसमिति बैठकले खाण गलत हुन् भन्ने भए उनलाई पार्टीको सदस्यबाट कारबाही वा खाण निर्दोष हुन् भन्ने निष्कर्ष भए उनको न्यायका लागि आह्वान गर्न सक्नुपर्ने बताए । ‘सभापतिज्यू यो बैठकले टुंगो लगाउनुपर्छ, तर मलाई खाने बाघले तँलाई पनि खाला भन्ने जस्तो गलत भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस्,’ उनले भने ।

उनले सभापति देउवाले पार्टीमा रुपान्तरण अभियान गरेर देश दौडाहा गरेका नेताहरूले ल्याएको प्रतिवेदनसमेत नबुझेको भन्दै विगतमा आफूले गरेको संघर्ष नभुल्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार