घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर मुग्लिनबाट पक्राउ

२०८१ बैशाख ५, बुधबार

पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको प्रकरणमा पोखरा महानगरपालिका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पक्राउ गरेको छ। आयोगका पोखरास्थित कार्यालयका सूचना अधिकारी जगदिशचन्द्र शिवाकोटीका अनुसार आयोगको टोलीले मुग्लिनबाट बराललाई पक्राउ गरेको हो। बराल एउटा कार्यक्रमका लागि मुग्लिनमा थिए।

‘आयोगको टोलीले बराललाई मंगलबार पक्राउ गरेको हो। उनी एउटा कार्यक्रमका लागि मुग्लिन पुगेका थिए,’ शिवाकोटीले भने। घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकायालाई अख्तियारले गत चैत २८ गते पोखराबाट पक्राउ गरेको थियो। उनी १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेकी थिइन। त्यही घुस प्रकरणमा संलग्न रहेको देखिएपछि बराललाई पक्राउ गरेको शिवाकोटीले बताए। ‘पक्राउपछि अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाएका छौं।

बाँकी अनुसन्धानको काम केन्द्रीय कार्यालयबाटै हुन्छ,’ उनले भने। पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको आरोप उनीहरुमाथि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार