
ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्।
खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुंगेलीले जानकारी दिए। दुर्घटनामा परी याङ्बरक– ४ का नौ वर्षीय मानष तामाङको घटनास्थलमै ज्यान गएको हो। उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए।
दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ। दुर्घटनापछि चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।