मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक छ : मन्त्री बस्नेत

२०८१ बैशाख ३१, सोमबार

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान् र विपद्जन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज सरदरभन्दा बढी वर्षाको आँकलन गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बस्नेतले पूर्वतयारी जोड दिनुभएको हो ।

उहाँले जलवायु परिवर्तनका कारण मनसुनजन्य घटना बढिरहेको र यसको क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने बताउनुभयो । विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

मन्त्री बस्नेतले आगामी मनसुनमा विपद्जन्य घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन निर्देशन दिनुभयो । “जलवायु परिवर्तनका कारण मनसुनजन्य घटना बढिरहेको अवस्थामा यसवर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले बाढीपहिरो जस्ता विपद्जन्य घटना बढ्न सक्छ”, उहाँले भन्नुभयो, “यस्ता घटना न्यूनीकरण गर्न सरोकारवालाले समयमा पूर्वतयारी गर्न आवश्यक छ ।”

मन्त्री बस्नेतले विपद्का पूर्वसूचना प्रणाली व्यवस्थित बनाउन प्रतिक्रिया लिने र सो प्रतिक्रियाको आधारमा नीति तथा योजना तर्जुमा गर्न विभागलाई निर्देशन दिनुभएको छ । मनसुनजन्य विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री बस्नेतको भनाई छ ।

“पूर्वसूचना प्रणाली विकासका लागि जनशक्ति अपुग छ, आवश्यक जनशक्ति पूर्ती गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “वित्तीय स्रोतको अभाव अर्को मुख्य चुनौती रहेकाले वित्तीय स्रोत व्यवस्थापनका लागि पहल कदमी आवश्यक छ ।”

मन्त्री बस्नेतका अनुसार जलवायु परिवर्तनका कारण कहिले बढी वर्षा हुने, कहिले कम वर्षा हुने त कहिले खडेरी पर्दा कृषि उत्पादनमा असर पुगिरहेको छ । “मौसमसम्बन्धी सूचना भरपर्दो हुँदा कुन समयमा धान रोप्ने, कुन समयमा बीउ रोप्ने, कुन समयमा धान भित्र्याउने वा कस्तो मनसुनमा कस्ता कृषि बाली लगाउने भन्ने जानकारी कृषकले पाउने छन्”, उहाँले भन्नुभयो, “योसँगै मनसुनजन्य घटनाबाट हुने क्षति न्यूनीकरणका विषयमा व्यापक जनचेतना जगाउन जरुरी छ ।”

सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जानकारी दिइएको छ ।

विभागले अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको बताएको छ । विभागका अनुसार न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेकोे छ । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार