सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने

२०८१ बैशाख ३१, सोमबार

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आउँदो जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । जेठ ३ गते बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा (एमाले)ले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने÷नदिनेमा एमाले अझै टुंगोमा पुग्न नसकेको बताए । उनले भने, “केन्द्रदेखि प्रदेश तहसम्मका सरकारको समीकरणको सन्दर्भ छ, मुख्यमन्त्रीले विश्वासको मत लिने तरिकामा भर पर्छ, विश्वासको मत लिनेले समन्वय गर्न पनि जान्नुप¥यो ।”

यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ । यसअघि विश्वासको मत लिने तयारी गरेका सोडारीलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरेका थिए । नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले)को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी)पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार