गुञ्जिन छाडे ‘असारे भाका’

२०८३ असार १८, बिहीबार

तानसेन : असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो। असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन्। तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन्।

‘असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्’, पाल्पाको तिनाउ गाउँपालिकाकी संगीता सारुले भनिन्, ‘रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो।’ युवा रोपाहारले गीत गाउन छाडेपछि गीत लोप हुने अवस्थामा पुगेको उनको अनुभव छ।

बुढापाकाले असारमा रोपाइँको दिनलाई वर्णन गरेको जस्तो उल्लास नभएको तिनाउकी मीना बगालेले बताइन्। ‘आजकालको खल्लो असारे रोपाइँ देखेर बाबुआमाले पनि गुनासो गर्नुहुन्छ’, उनले भनिन्, ‘पहिले हाम्रो पालामा रमाइलो हुन्थ्यो भन्नुहुन्छ। तर, हामीले त्यसलाई अनुभव गर्न पाएनौँ।’

बाल्यकालमा खेतका रोपाहार र हलीलाई पानी पुर्याउन आमासँगै माइत माडीफाँटमा जाने गरेकी सोही ठाउँकी मञ्जु पौडेलले ती दिन अझै सम्झिन्छिन्। ‘रोपाइँमा छतरी ओडेर असारे गीत गाएको सुन्दा निकै रमाइलो लाग्थ्यो’, उनले भनिन्, ‘विवाह गरेर आएपछि घरतिर रोपाइँका क्रममा खासै असारे गीत सुन्न पाइन्।’

बाल्यकाललाई सम्झँदै उनले असारे गीत गुनगुनाइन्…

‘छुपुमा छुपु हिलोमा धान रोपेरै छोडौँला

बनाई कुलो लगाई पानी आएर गोडौँला।।

‘असारे मासको दलदले हिलो छुनलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो’

तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई पहिले धान रोपाइँ गर्दा गाएका गीतहरू अहिले याद आउँछ। आफैँले पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको उनी सम्झिन्छिन्।

‘उहिले मनोरञ्जनका साधन केही थिएनन् , उनले भनिन्, ‘त्यही भएर केटाकेटी, अधबैँसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।’ हिलोमा छुपुछुपु खेल्दै, धान रोप्दै अनि दहीचिउरा खाँदै रोपाइँको याममा रमाइलो गर्ने गरेको नेपालले स्मरण गरिन्।

पुराना दिनहरू सम्झँदै उनले भनिन्, ‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दहीचिउरालाई नागनागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो। धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दहीचिउरा खाँदै लय हालेर असारे गीत गाउँदाको रौनक निकै रमाइलो हुन्थ्यो।’

हिजोआज भने पुराना भाकाहरू सुन्न छोडिएको नेपालले बताइन्। माडीफाँटमा चार हलको मेलो रोप्न पनि अन्यत्र जाँदा फुर्सद नहुने उनले सुनाइन्। पूर्वखोलाका मनबहादुर विकलाई असार १५ गते बाउसे गर्न जाँदा रोपाहार दिदीबहिनीले असारे भाका हालेर गीत गाएको क्षण ताजै छ।

‘धान रोप्दै लय हालेर असारे गीत गाउँदाको आनन्द छुट्टै हुन्थ्यो’, उनले भने। अहिले ती भाका र पुराना संस्कृति हराउँदै जाँदा चिन्ता लागेको उनले बताए। यी केही उदाहरण मात्र हुन्। पछिल्लो समय गाउँघरमा असारे भाका गुञ्जिन छोडेका छन्। युवा पुस्ताले असारे गाउन नजान्दा रोपाइँसँग जोडिएको नेपाली संस्कृति लोप हुने चिन्तामा ज्येष्ठ नागरिक छन्।

पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि बाजागाजाको जोडजाम मनबहादुरले बताए। ‘समयक्रमसँगै रोपाइँका गीत हराएका छन्। रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवा सबै मिलेर असारे भाका गाउने चलन हराउँदै गएको छ। यसले हाम्रो परम्परा लोप हुने जोखिम बढ्दै गएको छ’, उनले भने।

हिजोआज आधुनिकतासँगै असारे मौलिक गीतका भाकाहरू विस्तारै हराउँदै जाँदा पुराना पुस्ता भने चिन्तित छन्। अहिले पाल्पाका फाँटमा रोपाइँ भइरहेको छ। तर, असारमा गाइने मौलिक भाका खेत र आलीमा सुनिएका छैनन्।

‘असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेता, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि रोपाइँमा सहभागी भएका थिए। तर कसैले पनि असारे भाकामा गीत गाएनन्। रोपाइँमा सहभागी सबैले मौलिकतालाई बिर्सेको देखियो’, निस्दी मित्यालका मानबहादुर सारुले भने।

पहिला यहाँका फाँटहरूमा मौलिक गीत असार सुरु हुनेबित्तिकै सुनिने गरेकामा पछिल्लो समय मध्य असारमा पनि गाउँघरमा फाँट सुनसान हुने गरेका उनले बताए। मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा रहेको असारमा पहिलाको जस्तो उल्लास हिजोआज नहुने उनको बुझाइ छ।

पहिले गाउँका सबै परिवार मिलेर एकअर्काको खेतमा पालैपालो रोपाइँ गर्ने चलन थियो। रोपाइँका क्रममा असारे गीत गाउने, मादलको तालमा नाच्ने र दिनभरको कामपछि दहीचिउरा, अचार तथा स्थानीय परिकारसँगै बसेर खाने परम्पराले रोपाइँलाई कृषि कार्य मात्र नभई सामाजिक र सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको थियो।

अहिले कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्नु, युवाहरू वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुनु तथा श्रमिक अभावका कारण सामूहिक रोपाइँको चलन घट्दै गएको छ। कतिपय स्थानमा रोपाइँ छिटो सकिए पनि पहिलेजस्तो उत्साह, गीत, संगीत र सामूहिकता भने कम देखिन थालेको छ। पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण रोपाइँ गर्दा हिलोमा हिन्दी गीतमा टिकटक बनाउन थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार