काठमाडौँ : श्रीलङ्काको राजधानी कोलम्बोको बाहिरी इलाका नेगोम्बोस्थित एक कारागारमा भएको भीषण हिंसक भिडन्तमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा ४ जना जेल सुरक्षाकर्मी र १५ जना कैदीहरू रहेका छन् । घाइतेहरूलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले समाचार एजेन्सी एएफपी (AFP) लाई दिएको जानकारी अनुसार अस्पतालमा चार जना कारागार कर्मचारी र १५ जना कैदीहरूको शव ल्याइएको पुष्टि गरेकी छन् ।
प्रहरी र स्थानीय सञ्चारमाध्यमहरूका अनुसार राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो जेलमा आइतबारदेखि सुरु भएको यो हिंसात्मक शृङ्खला सोमबारसम्म नै जारी रहेको थियो । यसैबीच, श्रीलङ्काको स्थानीय टेलिभिजन च्यानल ‘हिरु’ ले भने यस हिंसक भिडन्तमा ज्यान गुमाउनेहरूको सङ्ख्या २० पुगेको र १०० भन्दा बढी घाइते भएको दाबी गरेको छ ।
रिपोर्टका अनुसार मृतक र घाइते हुनेहरूमा कैदी र कारागारका अधिकारी दुवै पक्ष रहेका छन् । श्रीलङ्का प्रहरीका प्रवक्ता चन्दना हेराथले जेल भित्र भिडन्त भएको र मानिसहरूको मृत्यु भएको घटनाको आधिकारिक पुष्टि गरेका छन् । यद्यपि, प्रहरीले कारागार भित्र यसरी हिंसा भड्किनुको मुख्य कारण र अन्य विस्तृत विवरण भने अझै सार्वजनिक गरिसकेको छैन ।








