काठमाडौँ : नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ ।
काभ्रेको बल्थलीमा दुई दिन बसेको कार्यदलको आवासीय बैठकमा प्रतिवेदनबारे सहमति जुट्न नसकेपछि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन तथा सदस्यहरूले दिएका सुझाव समेटेर एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो ।
एमालेका उपमहासचिव तथा कार्यदल सदस्य लेखराज भट्टका अनुसार तीनै नेतालाई दुई दिनको समय दिइएको छ । उनीहरूले तयार पारेको एकीकृत प्रतिवेदनमाथि कार्यदलको आगामी बैठकमा छलफल गरी पारित गरिनेछ । त्यसपछि प्रतिवेदन एमाले केन्द्रीय सचिवालयलाई बुझाइनेछ ।
‘दुवै मस्यौदा र कार्यदलका सदस्यहरूले दिएका सुझावहरूलाई मिलाएर एउटै प्रतिवेदन बनाउन जिम्मेवारी दिएको छ,’ भट्टले भने ।








