काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

२०८३ आश्विन ९, शुक्रबार

लमजुङ : पहाडको शान्त बस्ती, वरिपरि हरियाली जङ्गल । तल ऐतिहासिक गाउँसहर दरबार र माथि पुरानोकोट गढी । यही ऐतिहासिक परिवेशमा रहेको काउलेपानी प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्था र स्थानीय संस्कृतिका कारण परिचित छ । यहाँ आउने पर्यटकलाई घरबास (होमस्ट)को आत्मीय सत्कारसँगै पानीको बीचमा देवी उत्पत्ति भएको विश्वासले पनि आकर्षित गर्ने गरेको छ ।

बेँसीसहर नगरपालिका–३ मा रहेको जलदेवी मन्दिरलाई स्थानीय काउलेपानी देवी मन्दिर पनि भन्ने गर्छन् । स्थानीय किंवदन्तीअनुसार पानीको बीचमा देवीको मूर्ति भेटिएपछि त्यहीँबाट पूजा गर्ने चलन सुरु भएको हो । पानीमा लाग्ने लेउलाई स्थानीय रूपमा ‘काउले’ भनिने भएकाले देवीको नाम काउलेपानी रहन गएको र पछि सोही नामबाट गाउँको नामसमेत काउलेपानी रहन गएको स्थानीय बताउँछन् ।

काउलेपानी पर्यटन विकास समिति तथा घरबास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङका अनुसार यस क्षेत्रसँग सिद्धिबाबा तथा योगीको पुरानो तपस्याको किंवदन्ती जोडिएको छ । उनका अनुसार १५औँ शताब्दीतिर यस क्षेत्रमा सिद्धिबाबा तथा योगी बस्ने र तपस्या गर्ने गर्थे । “सिद्धिबाबाले सपनामा पानीको बीचमा देवीको मूर्ति देखेका थिए । त्यसपछि त्यहाँ गएर हेर्दा पानीको बीचमा देवीको मूर्ति भेटिएको किंवदन्ती छ । त्यहीँबाट देवी स्थापना गरी पूजा गर्ने चलन सुरु भएको र अहिलेसम्म कायम रहँदै आएको विश्वास छ”, गुरुङले भने ।

पानीको बीचमै पूजा गर्न कठिन भएपछि देवीको मूर्ति केही बाहिर ल्याएर पूजा गर्न थालिएको स्थानीय किंवदन्ती छ । त्यसयता सोही स्थानमा मन्दिर स्थापना गरी पूजा तथा दर्शन गर्ने परम्परा कायम रहेको स्थानीय बताउँछन् । पानीको बीचमा देवी उत्पत्ति भएको विश्वास भएकाले उनलाई ‘जलदेवी’ भनिएको हो ।

काउलेपानीमा सिद्धिबाबा तथा योगी बसेका र तपस्या गरेका विश्वाससँग जोडिएका स्थल रहेका छन् । स्थानीय रूपमा जोगीडाँडा भनिने स्थानमा सिद्धिबाबाले तपस्या गरेको चौतारा तथा ढुङ्गामा उहाँको पाइलाको छाप रहेको बताइन्छ । स्थानीयवासीले यी स्थललाई पुरानो धार्मिक परम्पराको स्मृतिसँग जोडेर हेर्ने गरेका छन् ।

जलदेवीप्रति स्थानीयको धार्मिक आस्था रहेको देवबहादुर गुरुङ बताउनुहुन्छ । मन्दिरमा पूजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्थाका साथ काठमाडौँ, पोखरा, चितवनलगायत विभिन्न ठाउँबाट भक्तजन दर्शन तथा पूजाका लागि आउने गरेका छन् ।

काउलेपानीको जलस्रोतसँग धार्मिक विश्वाससँगै ऐतिहासिक सम्बन्धसमेत जोडिएको स्थानीय बताउँछन् । स्थानीय बुढापाकाकाअनुसार तत्कालीन राजाले यहाँको पानी ढुङ्गाबाट बनाइएको भूमिगत संरचना तथा सुरुङमार्फत दरबारसम्म पु¥याएर प्रयोग गर्ने गरेका थिए । काउलेपानीको पानी दक्षिणतर्फ मूल फुटेर उत्तरतर्फ बग्ने भएकाले स्थानीयले यसलाई ‘उत्तरगङ्गा’समेत भन्ने गर्छन् । कात्तिक, ठूला एकादशी र माघ महिनामा यहाँ स्नान गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको गुरुङले बताए ।

स्थानीय जानकार कविन्द्र गुरुङका अनुसार काउलेपानीमा परम्परादेखि गुरुङ पुजारीले पूजा गर्दै आएका छन् । कात्तिक र चैते दसैँमा गाउँले सामूहिक रूपमा पूजा गर्ने तथा अन्य समयमा व्यक्तिगत रूपमा पूजा तथा दर्शन गर्ने परम्परा रहेको उनले बताए । “पहिलेदेखि नै गुरुङ पुजारीले पूजा गर्दै आएका छन् । कात्तिक र चैते दसैँमा गाउँले मिलेर पूजा गर्छन् । यहाँको धार्मिक आस्था जीवित छ”, कविन्द्र गुरुङले भने । समय क्रममा मन्दिर जीर्ण भएपछि पुनःनिर्माण गरिएको हो ।

गुरुङका अनुसार विसं २०७७/७८ मा सङ्घीय सरकारको करिब रु २७ लाख बजेटमा मन्दिरको नयाँ संरचना निर्माण गरिएको हो । धार्मिक महत्वसँगै काउलेपानी ग्रामीण पर्यटनको गन्तव्यका रूपमा पनि विकास भइरहेको छ । गाउँमा हाल १३ घरबास सञ्चालनमा छन् । गुरुङ र नेवार समुदायका घरमा सञ्चालित घरबासमा करिब ९० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको स्थानीयले बताएका छन् । घरबासमा आउने पाहुनाले स्थानीय खानपान, संस्कृति र रहनसहनको अनुभव लिनुका साथै गाउँसहर दरबार, पुरानोकोट गढीलगायत ऐतिहासिक तथा धार्मिकस्थलको अवलोकन गर्ने गरेका छन् ।

प्राकृतिक सौन्दर्य, घरबास, ऐतिहासिकस्थल र पानीको बीचमा देवी उत्पत्ति भएको स्थानीय विश्वासले काउलेपानीको छुट्टै धार्मिक तथा सांस्कृतिक पहिचान बनाएको छ । पुस्तौँदेखि चल्दै आएको जलदेवीको पूजा परम्परा स्थानीयको आस्था र संस्कृतिसँग जोडिएर निरन्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार