खाद्य अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ आश्विन १२, सोमबार

काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

चिनियाँ नाकामा रोकिएको सामान आयातको अनुमति दिन सहजीकरण गर्ने बाहानामा सेवाग्राहीसँग घुस मागेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।

अनुसन्धान अधिकृत अधिकारीले वसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठसँगको मिलेमतोमा खाद्य आयात अनुमति सहजीकरणका नाममा घुस लिएको अख्तियारको आरोप छ।

घुसबापतको रकम अधिकारीको नेपाल बैंकमा रहेको खातामा २५ हजार रुपैयाँ, प्रभु बैंकमा रहेको खातामा एक लाख १४ हजार रुपैयाँ, बस्यालको माच्छापुच्छ्रे बैंकको खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, श्रेष्ठको ग्लोबल आइएमई बैंकको खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ र चौधरीको प्रभु बैंकको खातामा २ लाख ६९ हजारसमेत गरी २८ लाख २० हजार ३७५ रुपैयाँ दाखिला गरेको पाइएको आरोपपत्रमा उल्लेख छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ। अधिकारीसँग २८ लाख २० हजार, श्रेष्ठसँग १४ लाख ९३ हजार, बस्यालसँग ८ लाख ९४ हजार र चौधरीसँग दुई लाख ६९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार