झापा : ‘मौरी दिदी’का नामले परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगका कारण मरेका छन् । अहिले उनका ५० घारमा मात्र मौरी बाँकी छन् ।
अठार वर्षअघि रु एक हजार लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालन सुरु गरेकी दाहालको समूहसँग कुनै समय ९०० घारसम्म मौरी थिए । उनले वार्षिक १० हजार केजी शुद्ध मह उत्पादन गर्दै आएकी थिइन् । मौरीपालनकै कारण राष्ट्रपति पुरस्कारसमेत पाएकी दाहाललाई अहिले रोगको सङ्क्रमण र बजारको समस्याले व्यवसायलाई निरन्तरता दिन कठिन भएको छ ।
“रोग सङ्क्रमणले ठूलो क्षति भयो”, उनले भनिन्, “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन ।”
मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्लो समय रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् ।
कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताए । कनकाई मौरीपालन उद्योगका सञ्चालक अधिकारीले व्यावसायिक मौरीपालनले लगानीअनुसारको प्रतिफल दिन नसकेको गुनासो गरे । चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ ।
उनले मौरीपालन व्यवसाय जोगाउन स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
शिवसताक्षी नगरपालिकामा अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेको कृषि शाखा प्रमुख रविन भट्टराईले बताए । उनका अनुसार मौरीपालनप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या प्रमुख कारण रहेका छन् ।
वार्षिक दुई हजार केजीसम्म मह उत्पादन गर्दै आएका शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभावी विषादी प्रयोग गर्दा मौरीपालन व्यवसायमा ठूलो सङ्कट निम्तिएको बताए ।
किसानले भोगिरहेका समस्या समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग गर्न सके मौरीपालन व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ । रासस











