काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफू फेरि अर्को आन्दोलन तथा विद्रोहको तयारीमा जुटेको बताएका छन्।
बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकार थप स्थापित गर्न र संविधान परिमार्जनका लागि नयाँ आन्दोलन आवश्यक भएको बताएका हुन्।
संयोजक दाहालले आफ्नो उमेर ढल्किए पनि क्रान्तिकारी विचार कमजोर नभएको दाबी गरे।
‘भौतिक उमेरको हिसाबले म ७२ कटेर अब ७३ टेक्दै छु,’ उनले भने, ‘तर विचारको हिसाबले म अर्को एउटा विद्रोह र आन्दोलनको तयारीमा छु, यो कुरा बुझिराख्नुहोला।’ उनले कठिन परिस्थितिबाट नआत्तिन आग्रह गर्दै रातपछि दिन आउँछ भन्ने यथार्थ नबिर्सन नेता-कार्यकर्तालाई स्मरण गराए।
दाहालले वर्तमान विश्व परिवेश, दक्षिण एसिया र नेपालको सन्दर्भ सुहाउँदो नयाँ आन्दोलनको खाँचो औंल्याए। पार्टी अहिले आन्तरिक रूपमा राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको जानकारी दिँदै उनले त्यसपछि देशव्यापी आन्दोलन अघि बढ्ने बताए।











