प्रोटोन ई.मास ५ बन्यो मलेसियामा सर्वाधिक बिक्री हुने इभी

२०८३ कार्तिक ३०, सोमबार

काठमाडौं : मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोन ई.मास ५ सर्वाधिक बिक्री हुने मोडल बनेको छ ।

सन् २०२६ को अक्टोबर महिनामा यसले मलेसियाको कुल ईभी बजारको झण्डै आधा हिस्सा ओगट्दै उल्लेखनीय सफलता हासिल गरेको हो ।अक्टोबरमा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन् । यो संख्या मलेसियामा सो महिनाभर दर्ता भएका कुल ४ हजार ५९२ वटा ईभीको ४९.३ प्रतिशत हो ।

यद्यपि, अक्टोबरमा मलेसियाको समग्र ईभी दर्ता भने घटेको छ । सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कमी आउँदै ईभी दर्ता गत फेब्रुअरीयताकै न्यून विन्दुमा पुगेको हो । यसैबीच, प्रोटोनकै अर्को मोडल ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन् । ई.मास ५ र ई.मास ७ को संयुक्त बजार हिस्सा ६१.३ प्रतिशत पुगेको छ ।

अर्कोतर्फ, अक्टोबरमा मलेसियामा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ । यस वर्ष दोस्रो पटक हाइब्रिड सवारीको दर्ता पूर्ण विद्युतीय सवारीको भन्दा बढी भएको हो । यसले मलेसियाको वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको बदलिँदो रोजाइलाई समेत संकेत गरेको छ ।

मलेसियामा ई.मास ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र बजार उपस्थितिलाई प्रतिबिम्बित गरेको छ । नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालि प्रोटोनको आधिकारिक वितरकका रूपमा रहेको छ ।

नेपालमा प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा रियर ह्विल ड्राइभ लेआउटसहित आएको यस गाडीमा ८५ किलोवाट क्षमताको मोटर, ४० किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री तथा भेहिकल टु लोड (भीटूएल) सुविधा रहेको छ ।

यसमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टिलिंक सस्पेन्सन, ७० लिटर क्षमताको फ्रन्ट ट्रंक र ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस उपलब्ध छ । साथै, ३२ वटा स्टोरेज कम्पार्टमेन्ट, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता सुविधा पनि समावेश छन् । नेपाली बजारमा यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

त्यस्तै, प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ । यसमा ४१० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ ।

ई.मास ७ मा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेडअप डिस्प्ले र भीटूएल सुविधा उपलब्ध छन् । यसको नेपाली बजार मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि शंकर ग्रुपअन्तर्गत सञ्चालित कम्पनी हो । प्रोटोनसँगको सहकार्यमा कम्पनीले नेपालमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई आधुनिक अटोमोटिभ प्रविधिसहितका सवारी उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार