हिम पर्वत हाइड्रोपावरले मंसिर १८ देखि आईपीओ निष्काशन गर्ने

२०८३ मंसिर ९, बुधबार

काठमाडौँ : हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुटाएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको थियो ।

त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको बाँकी ४२ लाख २५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ । ५ प्रतिशत अर्थात् २ लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ३ प्रतिशत अर्थात् १ लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

यी समूहका लागि सेयर छुट्याएपछि बाँकी रहेको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १ हजार रुपैयाँ र अधिकतम १० लाख रुपैयाँसम्म आवेदन रकम आवश्यक पर्नेछ ।

कम्पनीको आईपीओमा मंसिर १८ गतेदेखि आवेदन दिन सकिनेछ । निष्काशन बन्द हुने मिति छिटोमा मंसिर २३ गते तोकिएको छ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा भने पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर डबलबी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले २०२६ अगस्ट १३ मा उक्त रेटिङ प्राप्त गरेको हो । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । उक्त रेटिङ २०२७ अगस्ट १३ सम्म बहाल रहनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार