हेटौँडा : बागमती प्रदेश सरकारले भोटेकोशीको विनाशकारी बाढीबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न ६ अर्ब रुपैयाँ बजेट कटौती गरेको छ । रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रमा भएको क्षतिको पुनर्निर्माण तथा विपद् व्यवस्थापनका लागि विभिन्न मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट करिब ६ अर्ब रुपैयाँ कटौती गरेको हो ।
गत भदौ १० मा आएको विनाशकारी बाढीका कारण भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बागमतीका तीन जिल्ला बढी प्रभावित भएका थिए । प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गत असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेट कटौती गर्ने निर्णय गरेको थियो ।
बैठकले विपद्बाट भएको क्षतिको व्यवस्थापन तथा राहत र पुनर्स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको थियो । विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयका प्रस्तावित बजेटबाट केही रकम कटौती गरी विपद् व्यवस्थापनमा लगाउने निर्णय गरिएको हो ।











