सत्यवती तालमा चिच्याएर वर माग्ने मेला सम्पन्न

२०८३ मंसिर ९, बुधबार

काठमाडौं : पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीन दिने धार्मिक मेला सकिएको छ ।

कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन चलेको मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ भक्तजन सहभागी भएका थिए ।

कान नसुन्ने सत्यवती बज्यैसँग चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । परम्पराअनुसार भक्तजनले मध्यरातमा निगालो, साललगायतका लिंगो गाडेर तालको परिक्रमा गर्दै चिच्याएर वर माग्ने गर्छन् । भोलिपल्ट उज्यालो नहुँदै आफूले गाडेको लिंगो चिनेर पूजा गरेपछि फर्कने चलन छ ।

भक्तजनले मागेका कुराहरु सत्यवती बजैले पूरा गरिदिने जनविश्वासका आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने र त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ ।

मन्दिरमा चिच्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको ओइरो नै लागेको थियो ।

सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पारगरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । पहिले राति मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै आजकल दिउँसो राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार