नुवाकोटका सुनबहादुर तामाङ फेरि पक्राउ

२०८० असार ४, सोमबार

काठमाडौं : नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडानम्बर १ का पूर्व वडाध्यक्ष सुनबहादुर तामाङ फेरि पक्राउ परेका छन् ।

यसअघि चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेर उच्च अदालतबाट सफाइ पाएका उनी यो पटक जापान पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनले हिरादेवी थापालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु र त्यसका लागि १२ लाख रुपैयाँ लाग्छ, जापान पुगेपछि मासिक १ लाख रुपैयाँ भन्दा बढी तलब हुने गरी कृषिमा काम लगाइदिन्छु भनी १२ लाख रुपैयाँ ठगेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट खटिएको टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका ४ माकलवारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

२०७४ सालको चुनावमा दुप्चेश्वर गाउँपालिका वडानम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेलगत्तै मानव बेचबिखन मुद्दामा जिल्ला अदालत नुवाकोटबाट दोषी ठहर भएपछि निलम्बनमा थिए । सुन्तली तामाङसहित दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका उनलाई मानव बेचबिखनको एउटा मुद्दामा जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

उच्च अदालत पाटनले २०७६ मा उनलाई सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार