कोशी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार विश्वासको मत माग्दामाग्दै संसद् (प्रदेशसभा) छलेर भागेको आरोप लागेको छ।
बिहीबार आयोजित प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै प्रस्ताव पेस गरेका थिए। त्यससपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूले आफ्नो धारणा राख्दै विश्वासको मत दिन नसक्ने बताएका थिए।
त्यसपछि मुख्यमन्त्री भागेको आरोप कोशी प्रदेश कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले लगाएका हुन्। ‘विश्वासको मत लिन मुख्यमन्त्रीले प्रदेशसभामा पेस गर्नुभयो’, राईले भने, ‘त्यसपश्चात् प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका नेताहरूले आफ्नो धारणा राख्दै विश्वासको मत दिन नसक्ने धारणा राख्नुभयो। त्यसपश्चात् मुख्यमन्त्री टाप! संसद् छलेर कति भाग्ने हो?’
उता एमालेले भने आफ्नो आग्रहमा आज बिहान ११ बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरिएको दाबी गरेको छ। आज बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बताइएको छ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। एमाले र राप्रपासँग ४६ सांसद छन्। गठबन्धनमा रहेका दलसँग सभामुखबाहेक ४६ सांसद छन्। तर जसपाले तटस्थ बस्ने निर्णय गरेको छ।





