काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारी घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गर्नुभएको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाएको हो ।
“समाजवादको अभ्यास गर्ने दाबी गर्दै गर्दा किन हामी केही व्यापारी घरानालाई सहयोग पुग्ने बजेट बनाउँछौ ?”, उहाँले भन्नुभयो, “पेन्सिलको सार्पनर, बच्चाहरुले प्रयोग गर्ने सामानमा कर बढाउने तर एउटा पुस्तालाई बिगारिरहेको इलेक्ट्रोनिक चुरोट र सुुर्तिजन्य पदार्थमा कर नबढाउने ?”
उहाँले दैनिक उपभोग्य तरकारी आलु र प्याजमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । तर देश आत्मनिर्भर भइरहेको उत्पादनलाई लक्षित गरेरै माछा मासुमा कर हटाएको उनिको आरोप छ ।
सांसद सोविता गौतमले निम्न वर्गीय नागरिककाले उपभोग गर्ने वस्तुमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “करमा प्रोग्रेसिभ देखिएन । दैनिक उपभोग्य वस्तुमा राहतको अपेक्षा गरेका आमजनातामाथि कुठाराघात भएको छ ।” उहाँले किसानको उत्पादनलाई बिचौलियामुक्त बनाउन सरकारको ध्यानार्कषण गराए ।





