रास्वपा र राप्रपालाई पनि संसदीय समितिमा सिट दिनुपर्छ : सुवास नेम्वाङ

२०८० भाद्र १०, आईतवार

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई पनि संसदीय समितिको सिट दिनुपर्ने बताएका छन्। रासससँगको कुराकानीमा नेम्वाङले मिनिपार्लियामेन्टका रूपमा रहेको संसदीय समितिले ढिलै भएपनि पूर्णता पाउँदा खुसी लागेतापनि रास्वपा र राप्रपाले पनि समितिको नेतृत्व पाउनुपर्ने बताएका हुन् ।

‘संसदीय परिपाटी र मूल्य मान्यताको सन्दर्भमा कुनै पनि दलले आफूलाई बाहिर पारियो भन्ने महसुस गरिनुहुन्न । सत्ता गठबन्धन र समितिको कामकारबाही र जिम्मेवारी फरक विषय हुन्,’ उनले भने,’ ‘चौथो र पाँचौँले स्वभाविकरूपमा सिट प्राप्त गर्नुपर्छ भन्ने मान्यता हो।’

हाल संसद्मा चौथो ठूलो दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी छ भने पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ। यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १/१ समिति पाउने सहमति भएको थियो।

एमालेले पाउने तीन जनामध्ये दुईजना उम्मेदवारको टुंगो लागिसकेको छ। नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिमा मोरङबाट निर्वाचित सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ। त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार साहलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

माओवादीले माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ। अन्य दलले पनि आज अपराह्नसम्म उम्मेदवार टुंगो लगाउन बैठक बोलाएका छन्। उम्मेदवारी दिन आज अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार