काठमाडौँ : माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्ट पार्टीहरूमा विश्वासको वातावरण बनाई पार्टी एकतासम्म जानका लागि समाजवादी मोर्चा बनाएको बताएका छन् । हतारमा पार्टी एकता गर्नुभन्दा सँगसँगै काम गर्नका लागि समाजवादी मोर्चा बनाइ पार्टी एकताको वातावरण तयार गर्ने रणनीति लिइएको उनको भनाइ थियो ।
समाजवादी मोर्चाले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलहरू एक ठाउँमा आउँदा जनतामा भरोसा जगाउन सफल भइएको पनि बताए । वैकल्पिक राजनीतिक शक्तिमा रूपमा समाजवादी मोर्चा अगाडि आएको पनि उनको भनाइ थियो ।
‘यो मोर्चा रातारात बनेको होइन । स्थानीय चुनावभन्दा अगाडिदेखि मोर्चा बनाउने कि पार्टी एकता गर्ने भन्ने धेरै छलफल गरियो । जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्रबीचमा पार्टी एकता गरौं भनेर धेरै छलफल गरिएको थियो,’ उनले भने, ‘तर, विगतको जस्तो पार्टी एकता हतारमा गरियो, फुर्सदमा फुटियो भन्ने अनुभव फेरि दोहोरिएला भनेर डरायौं । फेरि पार्टी एकता गर्न हतार गर्नुभन्दा समाजवादी मोर्चा बनाएर कामकारबाही गर्दै जाने र अन्ततः कम्युनिस्टहरू एकै ठाउँमा ल्याउने रणनीति अपनाउनुपर्छ भनेपछि मोर्चा बनेको हो ।’
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जोडिएपछि समाजवादी मोर्चाको ओज र उद्देश्य तथा जनतामा भरोसा बढेको दाहालको भनाइ थियो । त्यस्तै, प्रधानमन्त्री दाहालले सरकारले बेथिति, विकृति र भ्रष्टाचार तथा कुशासनका विरुद्ध प्रहार सुरु गरिसकेको बताए । त्यो अभियानलाई टुंगोमा पुर्याउने उनको भनाइ थियो । उक्त अभियानमा जनताको पनि साथ चाहिएको उनले आग्रह गरेका छन् । ‘सरकार कति दिन टिक्छ मलाई त्यसको चिन्ता छैन । सरकारले बेथिति, विकृति, भ्रष्टाचार र कुशासनका विरुद्ध प्रहार सुरु गरिसकेको छ । हामी त्यसलाई टुंगोमा पुर्याउनेछौं,’ उनले भने ।





