एमाले सिध्याउन पार्टीभित्रैबाट घेराबन्दी भएको थियो : केपी ओली

२०८० आश्विन २१, आईतवार

धनगढी : पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताएका छन् । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको आज धनगढीमा उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।

उनले भने, “पार्टीभित्रको तत्त्वलाई परिचालन गरेर हाम्रो पार्टीलाई नै सिद्ध्याउने प्रयत्न भएको थियो । तर पनि हामीले पार्टीलाई जोगाएर यस ठाउँसम्म ल्याएका छौँ ।” पार्टी अध्यक्ष म लगायत पार्टीको शीर्ष नेतृत्वलाई साधारण सदस्यबाट समेत हटाउने काम भएको उनले स्मरण गरे । पार्टी भित्रैबाट भएको डरलाग्दो घेराबन्दीका कारण एमालेले बहुमत प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभातर्फ दुई सिटमात्रै जितेको भन्दै ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमाले मिसन ८४ मा लागेको बताए । उनले २०८४ मा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरे । “एमालेको बहुमतको सरकार बन्छ” उनले भने । यसैगरी, अहिले मुलुकमा देश बदल्ने, जनता सम्झिने सरकार नरहेको उनको टिप्पणी छ । वर्तमान सरकारले विकास, सुशासन र जनताको पक्षमा काम गर्न नसकेको उनले टिप्पणी गरे ।  

त्यस्तै, एमाले महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक स्थिरता ल्याउने सामर्थ्य आफ्नो पार्टीमा मात्र रहेको बताए । उनले पार्टीलाई अझ बलियो बनाउनेतर्फ लाग्न सबै नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । “आफ्नो आकाङ्क्षा पार्टीको हितमा राख्न सकिँदैन भने पार्टी बलियो हुँदैन” उनले भने । 

अधिवेशन उद्घाटनसत्रमा एमालेका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरे । एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा उदघाटनसत्र भएको थियो । प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भइरहेको अधिवेशन भोलिसम्म चल्ने सो दलले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार