चिनी नपाएको उपभोक्ताको गुनासो

२०८० आश्विन २३, मंगलवार

काठमाडौँ : चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट थोरै-थोरै परिमाणमा चिनी ल्याएर बिक्री गरिरहेको थियो । साल्ट ट्रेडिङमै मौज्दात न्यून भएपछि चिनी ल्याएर बेच्न नसिकएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी खरिद गर्न गत भदौ २९ गते अनुमति दिएको हो । अहिले कम्पनीमार्फत चिनी खरिदका लागि ४५ दिनको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बोलपत्र आह्वान, छनोट, स्वीकृति र त्यसपछि चिनी आपूर्तिको प्रक्रिया सुरु गर्दा दसैँ, तिहारलगायत चाडबाडको समयमा चिनी आइपुग्ने अवस्था देखिँदैन ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको मौज्दात सकिन लागेको छ । अहिले साल्ट ट्रेडिङसँग करिब चार सय मेट्रिक टन मात्र चिनी मौज्दात रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताए । दसैँ तिहारको समयमा एक महिनामा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको उनले बताए।  

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो ९७ का दरले चिनी बिक्री गर्दै आएका थिए । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो । 

चिनी खरिदका लागि आह्वान गरेको आन्तरिक टेण्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको तथा अहिले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट चिनी खरिदको काम भइरहेकाले केही समय लाग्ने दुवै जनाले लेखा समितिमा जवाफ दिए । सरकारले पहिला चिनी खरिदका लागि अनुमति नदिएको र अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेपछि खरिद गर्न ल्याउन समस्या भएको उनीहरूको भनाइ छ ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिने उद्देश्यले सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सुपथ मूल्य पसल सञ्चालन गर्दैआएको छ । 

सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनलाई एक करोड बजेट उपलब्ध गरेको थियो । खाद्य व्यवस्था कम्पनीले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा सबै किसिमको चामल, दाल, गहुँ, पिठो, मैदा, तेल (तोरी, सनफ्लावर र भटमास) तथा चिउरा  बजारभन्दा प्रतिकिलो सात सस्तो छ ।

त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो, उवा, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० छुट दिइएको छ । साल्ट ट्रेडिङले बजार मूल्यको तुलनामा नुन प्रतिकिलो दुई तथा तेल र चिउरा प्रतिकिलो सातका दरले छुट दिएको छ । यस्तै, दुग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २०, पनिर प्रति दुई सय ग्राममा २० र प्रति पाँच सय ग्राममा ५० छुट दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार