ताप्लेजुङ : दसैँ, तिहार र छठको अवधिमा साढे एकसट्ठी हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन्। दसैँको घटस्थापनादेखि तिहार र छठ पर्व सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दसैँ र तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य मौसम (सिजन) मानिन्छ।
दसैँको घटस्थापनादेखि छठ सम्ममा कुल ६१ हजार ५६६ जना भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले छोटो अवधि अर्थात् पाँच साताको अवधिभित्रै यति धेरै सङ्ख्यामा तीर्थयात्री आएका समितिका नव–नियुक्त कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए।
कार्यकारी निर्देशक हाङ्बाङका अनुसार दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा मात्र २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका गरेका थिए। बाँकी भक्तजनले कोजाग्रत पूर्णिमा पछि पाथीभराको दर्शन गरेका हुन्। समितिका अनुसार यसअवधिमा एकैदिन साढे सात हजारसम्म भक्तजनले पाथीभरा दर्शन गरेका थिए।
पाथीभराको दर्शन गर्न ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथमलगायत पूर्वका जिल्लाबाट उल्लेख्य रूपमा भक्तजन आएका छन्। त्यस्तै सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् भने नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतका ठाउँबाट भक्तजन आएका समितिले जनाएको छ। समितिका अनुसार चाडपर्व सकिएपछि पनि भक्तजनको आगमन जारी रहेको छ।
कार्यकारी निर्देशक हाङ्बाङद्वारा पदभार ग्रहण
यसैबिच पाथीभरा क्षेत्र विकास समितिका नव–नियुक्त कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बुधबार पदभार ग्रहण गर्नुभएको छ। सदरमुकाम फुङ्लिङस्थित पाथीभरा क्षेत्र विकास समिति कार्यालयमा समितिका अध्यक्ष रक्की थेबेले हाङ्बाङलाई पदभार ग्रहण गराएका हुन्। पदभार ग्रहण गराउदै अध्यक्ष थेबेले कार्यकालभर रचनात्मक कार्य गर्न र सफल रहनका लागि हाङ्बाङलाई शुभकामना दिएका थिए।
यता निवर्तमान कार्यकारी निर्देशक मनमणि काफ्लेलाई कदरपत्र प्रदान गरी बुधबार नै समितिले बिदाइ गरेको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ निवासी हाङ्बाङलाई गत कात्तिक २० गतेको मन्त्री परिषद् बैठकले पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।





