इजरायली कार्गो जहाजमा ड्रोन हमला, इरानको हात रहेको अमेरिकाको आरोप

२०८० मंसिर १०, आईतवार

तेल अभिभ : हिन्द महासागरमा इजरायली कार्गो जहाजमा ड्रोन हमला भएको रिपोर्टहरू प्रकाशित भएका छन् । समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हिन्द महासागरमा इजरायली कार्गो जहाजमा ड्रोन आक्रमण भएको जनाएको हो । अमेरिकी अधिकारीहरूले यसको पछाडि इरानको रिभोलुसनरी गार्डको हात हुनसक्ने दाबी गरेका छन् । एएफपीसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले भने, ‘आईआरजीसीले हिन्द महासागरमा शाहेद-१३६ यूएभी प्रहार गरिएको रिपोर्टबारे हामी सचेत छौँ।’

अधिकारीहरूका अनुसार आक्रमणमा जहाजमा सामान्य क्षति पुगेको छ भने कोही पनि घाइते भएका छैनन्। त्यसको एक साताअघि इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा इजरायलको एउटा कार्गो जहाज कब्जा गरेका थिए । यसै क्रममा लेबनानको हिजबुल्लाह सम्बद्ध मिडिया च्यानल अल मायादिनले पनि हिन्द महासागरमा इजरायलको जहाजमा ड्रोन हमलाको रिपोर्ट प्रकाशित गरेको छ । यद्यपी च्यानलले आफ्नो रिपोर्टमा यो जहाजमा कसरी आक्रमण भयो वा कसले गराएको हो भन्ने बताएको छैन ।

हालै यमनका हुथी विद्रोहीका प्रवक्ताले इजरायल वा इजरायली कम्पनीका सबै जहाजलाई निशाना बनाउने घोषणा गरेका थिए । हुथी विद्रोहीहरूले इजरायली झण्डा फहराएको कुनै पनि जहाज प्यालेस्टिनीहरूको समर्थनमा निशाना बनाइने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार