लेखनाथ : पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर्ष भव्य तयारीका साथ रजत जयन्तीका रूपमा मनाउन लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले नयाँ वर्षको स्वागतार्थ प्रत्येक वर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ ।
पोखराको पर्यटन प्रवर्द्धनका लागि गरिँदै आइएको सडक महोत्सवलाई रजत जयन्तीका रूपमा मनाउने तयारी भइरहेको आयोजक संस्था रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवसँगै गुणस्तरीय सेवालाई पनि त्यत्तिकै ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । कोरोना महामारीपछि यस वर्ष पोखरामा आउने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएकाले पर्यटन व्यवसाय चलायमान भएको उनको भनाइ छ ।





