धितोपत्र बोर्डको कामकारबाहीप्रति कर्मचारी असन्तुष्ट

२०८० मंसिर १७, आईतवार

काठमाडौँ : पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कामकारबाहीप्रति त्यहींकै कर्मचारीले असन्तुष्टि जनाएका छन् । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले शुक्रबार विज्ञप्ति निकालेर बोर्डका निर्णय पारदर्शी नभएको, सार्वजनिक निष्कासनमा बारम्बार विवाद भइरहेकोलगायत समाचार आइरहँदा पनि बोर्डको नेतृत्वले खण्डनसमेत नगरेको आरोप लगाएको छ ।

धितोपत्र बोर्डको कामकारबाहीप्रति कर्मचारी असन्तुष्ट ‘पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा बोर्ड र बोर्ड नेतृत्व बदनाम हुने गरी समाचार आउँदा बोर्डबाट सोको स्पष्ट खण्डन हुन नसकेकामा हामी चिन्तित छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘बजार निरन्तर ओरालो लागेको तथा अर्थतन्त्रका अधिकांश सूचक सन्तोषजनक नरहेको विषम परिस्थितिमा बोर्ड एवं बोर्ड नेतृत्वप्रति व्यापारिक स्वार्थ समूह हाबी भएको भन्ने खालका आरोप सम्बन्धमा हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’ धितोपत्रको सार्वजनिक निष्कासन तथा अनुमतिका सम्बन्धमा बारम्बार र विवादास्पद समाचार पढ्न र सुन्नु पर्दा आफूहरू मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ ।

‘बोर्डको स्थायी संयन्त्रका रूपमा रहेका कर्मचारीमा भय र त्रासको वातावरण सिर्जना भएको महसुस गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक अंग र विषयगत संसदीय समितिबाट बारम्बार प्रश्न उठ्ने गरी काम भएको भन्ने आरोपले समेत कार्यालय त्राहिमाम बनेको छ ।’

बोर्डलाई व्यापारिक समूह तथा तिनका बिचौलियाको प्रभावबाट जोगाउन र कर्मचारीको पेसागत हकहितको सुरक्षार्थ सम्बद्ध पक्षलाई संगठनले आग्रह गरेको छ । पुँजीबजारको शुद्धीकरण अभियानमार्फत सत्यतथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम राख्नुपर्नेमा बोर्डको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार