सडक बन्द गर्न खोज्ने आठ पक्राउ

२०८० पुष १, आईतवार

खोटाङ : खोटाङमा थप आठ जना पहिचानवादी नेता कार्यकर्ता पक्राउ परेका छन् । यसअघि पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीलगायतका नेतालाई रिहाइको माग गर्दै सडक बन्दमा उत्रेका आठ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति खोटाङका संयोजक युगसन किरात, युवा परिचालन समितिका संयोजक निर्मल राई, जसपा पार्टीका जिल्ला सचिव सुनिल चाम्लिङ, सङ्घर्ष समितिका सदस्य सङ्गीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राई रहेका छन् ।

उनीहरूलाई मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेलस्थित किरातचोकबाट प्रहरीले पक्राउ गरेको छ । मङ्सिर २६ गते पक्राउ परेका पूर्वमन्त्री किरातीसहित अन्यलाई रिहाइको माग गर्दै संयुक्त सङ्घर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभरि सडक बन्द घोषणा गरेको थियो । सडकमा सवारी आवागमनमा अवरोध गरेकाले उनीहरूलाई होल्ड गरिएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । नेकपा (एमाले) को “झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा” लाई लक्षित गर्दै मध्यपहाडी सडक बन्द गराउने, कालो झण्डा देखाउनेक्रममा विभिन्न जिल्लाबाट मङ्सिर २६ गते पहिचानवादी नेताहरू पक्राउ परेका थिए ।

पक्राउ परेकालाई रिहाइको माग गर्दै सडक बन्दमा उत्रिएका आठ जनलाई खोटाङबाट प्रहरीले पक्राउ गरेको हो । प्रदेश १ को नाम कोशी नभएर पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै पहिचानवादीले प्रदेशको नामकरण भएदेखि आन्दोलन गर्दैआएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार