तनहुँ : कांग्रेस महामन्त्री गगनकुमार थापाले विधानअनुसार चले मात्र पार्टी बलियो हुने बताएका छन्। कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई विधानमा भएको व्यवस्थाअनुसार चलाउनुपर्ने बताए। पार्टी विधानविपरीत चले दण्डित हुने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।
महामन्त्री थापाले भने, ‘विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ। दण्डको व्यवस्था भए मात्रै पार्टी विधानबमोजिम चल्न सक्छ। त्यसमा हामीले छलफल चलाइराखेका छौँ।’ उनले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने भन्दै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको जिकिर गरे। ‘अहिले पार्टीभित्र जुन पद्धति छ, त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो। हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ।’
संसदमा निर्वाचन कानुनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गरे। उनले भने, ‘यसो भए मात्रै एक पार्टीले अर्को पार्टीसँग निर्वाचनअघि गठबन्धन गर्न पाउँदैन। त्यस्तो हुँदा कांग्रेस एमालेसँग डराउनुपर्दैन, एमाले कांग्रेस वा अरू पार्टीसँग डराउनुपर्दैन।’





