काठमाडौं : त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गरेका छन्।
त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई संयोजक रहेको छनोट कमिटिले त्रिविको २०औं उपकुलपति छनोट प्रक्रिया शुरू गरेकै बेला उपकुलपतिले निमित्त शिक्षाध्यक्ष प्रा. भार्गब धिताल र निमित्त रजिस्ट्रार डा. कृष्णप्रसाद बस्याललाई साथ लिएर धमाधम कर्मचारी सरुवा गर्न शुरू गरेका हुन्।
कातिक १७ गते नियुक्त भएका उपकुलपति प्राडा भुसालको ३ महिने कार्यकाल यही माघ १७ गतेबाट सकिँदै छ। कार्यकाल सकिन एक सातामात्र बाँकी रहँदा त्रिविलाई दूरगामी असर पुग्ने विषयमा ध्यान नै नदिई धमाधम सरुवा गर्न शुरू गरेको त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले जानकारी दिए। उनले भने– ‘हामीले यस विषयमा पदाधिकारीलाई ध्यानाकर्षण गराउने तयारीमा छौं। नसुनेमा थप कार्यक्रम अघि बढाउनेछौं।’
अघिल्ला रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यकाल सकिन दुई महिनाअघि नियुक्त भएका उपकुलपति प्राडा भुसालले रजिस्ट्रार दाहाललाई कार्यकाल सकिनै लाग्दा सरुवा, बढुवालगायतका कुनै पनि काम नगर्न आग्रह गरेका थिए। जिम्मेवारी लिएको एक साता बित्न नपाउँदै उपकुलपति प्राडा भुसालले त्रिविको प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेका रजिस्ट्रार प्राडा दाहाललाई महत्वपूर्ण निर्णय नगर्न आग्रह गरेका थिए।
उपकुलपति प्राडा भुसाललगायत पदाधिकारीले त्रिवि सेवाबाट राजीनामा गरिसकेका शिक्षण अस्पतालका प्रमुख बैकुण्ठप्रसाद थपलियाको राजीनामा स्वीकृत नगरी फिर्ता गर्न लगाएर त्रिवि केन्द्रीय कार्यालयमा काजमा सरुवा गराएको छ । उहाँलाई त्रिवि कार्यकारी परिषद्को सचिवको जिम्मेवारी दिने तयारी भएको छ। हाल कार्यकारी परिषद्को प्रमुख विष्णु अर्याललाई इन्जिनियरिङ अध्ययन संस्थानमा सरुवा गर्ने तयारी भइरहेको छ। अवकासको मुखमा रहेका थपलियालाई उपकुलपति प्राडा भुसालकै जोडबलमा कार्यकारी परिषद्मा ल्याइएको स्रोतको भनाइ छ।
त्यस्तै, शिक्षण अस्पतालमा कार्यरत नवराज भट्टराईलाई रजिस्ट्रारको कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको छ। पुस १९ गते निमित्त रजिस्ट्रार भएका डा. बस्यालले आफू निकटका कर्मचारीलाई धमाधम सरुवा गर्ने तयारी गरिरहेका छन् । नेपाली कांग्रेस निकट रजिस्ट्रार बस्यालले जिम्मेवारी पाउनासाथ कर्मचारी सरुवामा आँखा लगाएको कर्मचारीहरूको आरोप छ। भागबण्डाको आधारमा रेक्टर डा. भार्गब धिताल माओवादी केन्द्र निकट हुनुहुन्छ। कर्मचारी संघका अध्यक्ष कार्कीले करिब एक दर्जन कर्मचारी सरुवा गर्न लागेको गाइँगुइँ चलेको, केहीको बारेमा जानकारी भए पनि अधिकांश गोप्य राखिएको बताए।
स्रोतका अनुसार पुण्यप्रसाद आचार्यलाई व्यक्तिगत निवेदनबिना शिक्षण अस्पतालबाट केन्द्रीय कार्यालयको लेखापरीक्षण महाशाखामा काज सरुवा गर्न लागिएको छ। कार्यकाल एक साता मात्र बाँकी रहेका उपकुलपतिले मनपरी सरुवा गरे कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। त्रिवि कुलपति एवं प्रधानमन्त्री प्रचण्डले कार्यकाल सकिनै लागेका र निमित्तको जिम्मेवारी पाएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलगायत अन्य विश्वविद्यालयका पदाधिकारीलाई दैनिक कार्य सञ्चालनबाहेक अन्य दूरगामी र भविष्यमा असर पर्ने महत्वपूर्ण सरुवालगायत कुनै पनि निर्णय नगर्न निर्देशन दिएका थिए।
तर, कार्यकाल सकिनै लागेको त्रिविको उपकुलपतिलाई मनपरी सरुवा गर्नबाट रोक्न कुलपति प्रचण्डले कुनै पनि निर्देशन नदिन गलत मनसाय भएको कर्मचारीको आरोप छ।





