धरान : धरान उपमहानगरपालिका–२० मा पर्ने चिन्डेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धरानदेखि सात किलोमिटरको दुरी पार गरेपछि धरान २० मा पर्ने चिन्डेडाँडा पुग्न सकिन्छ । यहाँबाट धरान, तराईका विभिन्न भाग र खुल्ला मौसम भएमा सप्तकोशीको रमणीय दृश्य पनि देखिने भएकाले आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ ।
यहाँबाट प्याराग्लाडिङ उडानसमेत हुने गरेको छ । यो ठाउँले पोखरालगायतका अन्य पर्यटकीय क्षेत्रको झल्को दिने गरेको त्यहाँ पुगेको पर्यटक धरान १६ निवासी निङमा शेर्पाले बताए। उहाँसँगै आएका धरान १६ निवासी रमेश कार्कीले धरानको रमणीय स्थल देखिने भएको कारण बिदामा चिन्डेडाँडामा आउने गरेको बताए ।झापाको दामकबाट साथीहरूसँग घुम्न आएका युवराज सुवेदी पनि यहाँबाट देखिने मनोरम दृश्यले निकै आनन्दको महसुस हुने बताउछन् । उदयपुर ग्राहीका निवासी रिपमर्दन बुढाथोकीले धरान आउँदा घुम्नै पर्ने ठाउँमध्ये चिन्डेडाँडा पनि रहेको बताए ।
जीर्ण सडक भएका कारण कतिपय पर्यटकहरू आउन खोजे पनि आउन नसकेको धरान ११ शशी राईले बताए । यहाँसम्म पुग्ने जीर्ण सडकलाई सुधार गरेमा पर्यटक बढ्ने उनको भनाइ छ । दैनिक रूपमा दुई सयदेखि चार सयसम्म र बिदाको समय र शुक्रबार, शनिबार पाँच सयदेखि एक हजारसम्म पर्यटकहरू आउने गरेको स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङ बताउछन् । उनले विगत १३ वर्षदेखि यस ठाउँमा व्यवसाय गर्दै आएको छ । बिदाको समयमा धेरैजसो विद्यार्थीहरू ट्रेकिङका रूपमा आउने गर्छन् । यहाँबाट ऐतिहासिक स्थल सुलीकोट, झण्डीडाँडालगायतका दर्शनटुप्पो भएको स्थानमा समेत पुग्ने र एक रात बास बसेर फर्कन सक्छन् ।
यद्यपि, यहाँ बास बस्नका लागि त्यति राम्रो व्यवस्था भने हुन नसकेको होटल व्यवसायी वसन्ती तामाङले बताए । यहाँ आउने पर्यटकहरूले यहीँ मात्र पाइने भट्टु चामलको खाना, गुन्द्रुकको अचार, सुकुटी लोकल कुखुरा बढी मन पराउने गरेको व्यवसायी तामाङले बताए । करिब पाँच वर्षअघि चिन्डेडाँडासम्म पुग्ने बाटो गोरेटो मात्र थियो । अहिले कच्ची सडकसम्म बनेको छ । दुईप्राङ्ग्रे मोटरसाइकल, अटो रिक्सालगायतका सवारीसाधन यस ठाउँमा पुग्न सक्छन् ।





