वीरगन्ज : वीरगन्जका मेयर राजेशमान सिंहले झुटो विवरण पेश गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको विषयमा जिल्ला प्रहरी कार्यालयले समेत अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता लिँदा पेश गरिएको अनुसूची फारम सहितका कागजातहरु पठाउन पत्राचार गरिसकेको छ । वीरगन्ज महानगरपालिका– ३ निवासी लियाकत अलीले रुबीना श्रेष्ठ र राजेशमान सिंह विरुद्धमा भुठा विवरण पेश गरी नागरिकता र राहदानी लिएको कसूरमा जाहेरी दिएका थिए ।
प्रहरीले प्रशासन कार्यालयबाट २०७५ साउन १३ मा रुबीना श्रेष्ठको नाममा जारी भएको ३४–०१–७५–०४८४७ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्रको छायाँकपी प्रहरीले माग गरेको छ ।
यसको साथै नागरिकताको प्रमाण पत्र लिदा पेश गरेको अनुसूची फारम लगायत सो सम्बन्धित सम्पूर्ण कागजातहरुको आवश्यकता परेको हुँदा कार्यालयमा पठाउन पत्राचार गरिएको छ । रुबीनाले २०७९ साउन २४ मा ११०३९६१७ नम्बरको राहदानी लिँदा पेश गरेको आवेदन फारम तथा सो सँग सम्बन्धित सम्पूर्ण कागजात समेत माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी उपरिक्षक कोमल शाहले जाहेरी दरखास्त आएपछि अनुसन्धानका लागि नागरिकतासँग सम्बन्धित कागजात प्रशासन कार्यालयबाट माग गरिएको बताए । ‘नागरिकता सम्बन्धी कागजात माग गरेका छौँ,’ एसपी शाहले भने, ‘अनुसूची लगायतका फारम आएपछि अनुसन्धान थप अगाडि बढ्छ । ’





