पहिलो दिन नै नेप्से ३० अङ्कभन्दा बढीले घट्यो

२०८० फाल्गुन १, मंगलवार

काठमाडौँ : मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा लगत्तै सेयर बजार साढे ३० अङ्कभन्दा बढीले घटेको छ । केन्द्रीय बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । समीक्षामार्फत सेयर धितो कर्जा (मार्जिन लेण्डिङ) र यस्तो कर्जाको जोखिम भारमा कुनै नयाँ व्यवस्था नभएसँगै यसको प्रभाव मंगलबारको सेयर बजारमा देखिएको हो ।

यसअघि केन्द्रीय बैंकले सेयर धितोकर्जाको सीमा १२ करोडबाट बढाएर २० करोड पुर्‍याएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले सेयर धितो कर्जाको सीमा व्यक्तिगतमा १५ करोड र संस्थागत कर्जाको सीमा २० करोड पुर्‍याइदिएकोमा यस्तो कर्जामा लागू हुने जोखिमभारलाई समेत घटाएर १२५ प्रतिशत कायम गरिदिएको थियो ।

थप, दोस्रो त्रैमासको समीक्षामार्फत सो समेत घट्नेमा लगानीकर्ताहरू आशावादी थिए । तर, अर्धवार्षिक समीक्षाले कर्जा र जोखिमभारको विषयमा केही पनि नबोलिदिएपछि लगानीकर्ताहरू निराश बन्न पुगेका हुन् ।

फलतः मौद्रिक नीतिको समीक्षापछिको पहिलो दिनमा नै नेप्से सूचक ३० माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३०.५६ अङ्कले घटेर पुनः २ हजार ७०.५९ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदा २०३ वटा कम्पनीको सेयर मूल्य घट्न पुगेको छ भने जम्मा ४० वटा कम्पनीको मात्र मूल्य बढेको छ । तथापि, आज ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार