काठमाडौँ : ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।
आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनका अनुसार व्यञ्जनकारलाई रेगुलर चेकअपका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो। ‘नर्भिकमा आज ४ बजेतिर उहाँको निधन भएको रहेछ,’ मेयर चिरिबाबुले भने।
व्यञ्जनकार लगातार १० पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा १० का वडाअध्यक्षमा निर्वाचित भएका थिए। गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए। नरसिंहको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई हराएका थिए। स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए।
त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका थिएनन्। वडाबासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेका थिएनन्।





