नेपालगन्ज : वैदेशिक रोजगारीका लागि मलेसिया गएका बर्दियाका टोपबहादुर ओली बिरामी भई उपचारमा समस्या आएको जनाउँदै परिवारका सदस्यले सहयोग गर्न आग्रह गरेका छन् ।
नेपालगन्जमा पत्रकारसँगको भेटमा ओली श्रीमती नन्दा ओलीले वैदेशिक रोजगारमा मलेसिया गएका ओली प्रेसरले बिरामी भएपछि मलेसियाको अस्पतालमा उपचाररत रहेको बताए । आर्थिक अवस्था नाजुक भएकाले उद्धारका लागि पहल तथा सहयोग गरिदिन सरकारसँग उनले आग्रह गरेका हुन् । उनले भने, ‘दश वर्षअघि मलेसिया गएका श्रीमान् लामो समयसम्म सम्पर्कविहीन भए पनि बिचमा सम्पर्कमा आएका थिए । यहाँबाट गएको कामको भिसा सकिएपछि गैरकानुनी रूपमा अन्यत्र काम गरिरहेका थिए ।’
बिरामी भएर अस्पतालमा भर्ना भएपछि मात्र खबर आएकाले बच्चासहित आफूहरू निकै चिन्ता र पीडामा रहेको नन्दाले बताए । प्रेसरले विगत १२ दिनदेखि ओली मलेसियामा उपचाररत रहेको श्रीमती नन्दाले जानकारी दिए। ओलीका तीन जना छोरी छन् ।





