काठमाडौँ : सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेको छ।
शुक्रबार संसद् बैठक चलिरहँदा कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बोल्दै विवादित व्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए।
उनले कयौँ सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेबारे प्रष्ट जवाफ नआएसम्म संसद् चल्न नसक्ने घोषणा गरे।
कांग्रेस सांसदहरू उठेर संसद्मा अवरोध गरिरहँदा सभामुख देवराज घिमिरले प्रधानमन्त्रीबाट जवाफ आउने बताउँदै बैठक अघि बढाउन आग्रह गरे।
तर कांग्रेस सांसदहरू उभिएर संसद्मा अवरोध जारी राखेका छन्। उता कांग्रेसको उक्त कदमलाई लिएर सत्तारुढ नेकपा माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका छन्।





