माओवादी निकट रहेर माओवादीका नेताहरुलाई घरमा नै खाना खुवाउनेसम्मको पहुँच बनाएका श्रेष्ठलाई उनको घरमा रहेको माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालयबाट २०६४ चैत १४ गते नगद १७ लाख र हतियार चोरी गरेको आरोप खाम लगायतले लगाएका थिए । कोटेश्वरबाट अपहरण गरेर लडाकु शिविरमा ल्याएर श्रेष्ठलाई चरम यातना दिँदा उनको २०६५ वैशाख २८ मा मृत्यु भएको थियो । श्रेष्ठको शव त्रिशूली नदी किनारमा भेटिएको थियो । हत्यामा संलग्न भनिएका गोविन्दबहादुर बटाला लगायतका माओवादी लडाकुको तेस्रो डिभिजनले प्रहरीमा बुझाए पनि खाम भने माओवादी नेतासँगको पहुँचका कारणले उन्मुक्ति पाउँदै आएका थिए ।
यही मुद्दामा गोविन्दबहादुर बटालालाई जिल्ला अदालत चितवन र तत्कालिन पुनरावेदन अदालत हेटौंडाले दोषी ठहर गरे पनि सर्वोच्च अदालतले सफाइ दिएको थियो । श्रेष्ठको हत्यामा बटलासहित, कालीबहादुर खाम, केशवबहादुर अधिकारी, गंगाराम थापा, अर्जुन कार्की प्रत्यक्ष संलग्न रहेको अभियोग थियो । खाम, अधिकारी र थापा तीन जना फरार रहेकाले उनीहरुको सम्पत्ति रोक्का गरेर जिल्ला अदालत चितवनले मुद्दा मुल्तबीमा राखेको थियो । कार्कीलाई भने २० रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।
श्रेष्ठकी श्रीमती रमिलाले खाम लगायतका माओवादी लडाकु विरुद्ध २०६५ जेठ ८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन् ।





