ताप्लेजुङ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सत्तामा फर्किएपछि देशको ओरालो लाग्ने क्रम रोकिएको दाबी गरेका छन् ।
ताप्लेजुङ एमालेको जिल्ला पार्टी कार्यालय भवनको बिहीवार उद्घाटन गर्दै ओलीले पार्टीलाई सरकारबाट हटाएर देशलाई ओरालो र कमजोर बनाउन खोजिए पनि त्यो रोकिएको बताए । ‘एमालेलाई सरकारबाट हटाउने अनेक टीकडम, षडयन्त्र र जालझेल भयो तर देशलाई अगाडि बढ्न नदिने उद्देश्यले भएको प्रयासलाई हामीले चिरेका छौं । देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यसाथ भएको काममा रोकिएको छ,’ उनले भने, ‘हामी सत्तामा आएसँग देशको ओरालो लाग्ने क्रम पनि रोकिएको छ । देश अब ओरालो लाग्दैन । देशमा रोकिएका विकास निर्माणका कामले अब गति लिन्छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो समयमा आफूले भारतले मिचेको भूमिलाई नेपाली नक्सामा समेटेको तथा अब कहिल्यै नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गरेको पनि बताए । उनले वैशाख १५ गते हुने इलाम– २ र बझाङ– १(१)को प्रदेशसभा उपनिर्वाचन पनि एमालेले जित्ने दाबी गरे ।





