आगामी रणनीति तय गर्न परामर्शमा जुटे भीम रावल

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौं : एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएर पराजय व्यहोरेका पार्टीका पूर्वउपाध्यक्ष डा.भीम रावल अहिले भूमिकाविहीन भएका छन्।

एमालेले कुनै कार्यकारी जिम्मेवारी नदिएपनि रावल पार्टीमै रहेको बताउँदै आएका थिए। महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि एमालेले उनलाई केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरेको थियो।अध्यक्षमा पराजित व्यक्ति स्वतः सल्लाहकार समिति सदस्य हुने प्रावधान रहेको एमाले नेताहरु बताउँछन्। यद्यपि रावलले उक्त जिम्मेवारी अस्वीकार गर्दै आइरहेका छन्।

दशौं महाधिवेशन पछि एमाले अध्यक्ष ओलीको उपेक्षामा परेका रावल गत वर्षको मंसिरमा पार्टीले आयोजना गरेको मध्यपहाडी पदयात्रामा समेत अनुपस्थिति रहेका थिए। उनले आफूलाई कुनै खबर नगरिएपछि उक्त कार्यक्रममा सहभागी नभएको बताएका थिए।

एमालेका हरेक राष्ट्रिय स्तरका कार्यक्रमहरुमा रावललाई सहभागी नगराउनु दशौं महाधिवेशनमा प्रतिस्पर्धी रहेका केपी ओलीको तुषका रुपमा पनि औंल्याइन्छ।

यही सन्दर्भमा भर्खरै सम्पन्न एमालेको राष्ट्रिय महासिधवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन नपाएपछि उनले आफू राजनीतिक रुपमा निर्णायक अवस्थामा पुगेको बताएका छन्। उनले अन्तिम अवस्थामा पुगेको बताउँदै कठोर कदम चाल्ने संकेत गरेका छन्।

शनिबारदेखि सुरु भएर तीन दिनसम्म चलेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुन हिँडेका रावलले आफ्ना प्रतिनिधि मार्फत कार्यक्रमस्थलमा प्रवेशका लागि कार्ड लिन पठाएका थिए। तर कार्यक्रम स्थलमा कार्ड नभएको जानकारी दिएपछि उनी बीच बाटोबाटै फर्किएका थिए।

यद्यपि एमालेले भने रावललाई कार्यक्रममा प्रवेश गर्न कार्डको जरुरी नपर्ने जनाएको छ। पार्टीको सफ्टवेर एप अनुसार सबै तहका जिम्मेवार नेताहरु हलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको बताएको छ।

सबै सहभागीहरुलाई कार्ड वितरण गरेर रावलले भने आफूलाई निषेध गरिएको बताउँदै आएका छन्। दशौं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध दिएको उम्मेदवारीको प्रतिशोध साँधिएको उनको आरोप छ।

बिहीबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले आफू राजनीतिको नयाँ घुम्तीमा पुगेको बताउँदै अब अर्कै मोड लिनुपर्ने अवस्थामा पुगेको जनाए। उनको यस अभिव्यक्तिले रावलले पार्टी छाड्ने परिस्थिति निम्तिएको समेत आँकलन गरिएको छ ।

एमालेमा रावलको असन्तुष्टि सम्बोधन गर्न यस अघि वार्ता टोली समेत गठन गरिएको थियो। उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सुदूरपश्चिमका एमाले नेता लेखराज भट्ट र कर्णबहादुर थापासहितको तीन सदस्यीय टोली गठन गरेको थियो।

एक चरणको वार्ता गरिसकेको सो टोलीले छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको बताएको थियो। त्यस बेला एमालेको वार्ता टोली सदस्य रहेका थापाले को कुराकानीमा वार्ता सकारात्मक रहेको र रावललले एमालेमै रहने प्रतिबद्धता जनाएको बताएका थिए।

तर भर्खरै सम्पन्न राष्ट्रिय महाधिवृशना प्रतिनिधि परिषदको बैठकमा सहभागी हुन नपाएपछि रावलको असन्तुष्टि चरमोत्कर्षमा पुगेको छ। उनले बिहिबार सार्वजनिक रुपमा राजनीतिक घुम्तीमा पुगेको बताउँदै नयाँ कदम चाल्न सक्ने उद्घोष गरेका छन्।

उनको अभिव्यक्तिले रावल एमाले छाड्नेसम्मको कठोर निर्णय लिने तयारी रहेको उनी निकट स्रोत बताउँछ।

रावल निकट स्रोतका अनुसार नेता रावलसँग सक्रिय राजनीति र अध्ययन तथा लेखन गर्ने दुई विकल्प रहेको र तत्काल सक्रिय राजनीतिबाट बाहिरिने मुडमा उनी छैनन्।

रावलले अझै सक्रिय राजनीति गर्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बताएको छ। त्यसका लागि एमालेले कुनै स्थान नदिएर अपमानजनक व्यवहार गरिरहे नयाँ राजनीतिक यात्रा तय गर्नेसम्मको तयारी छ।

रावल भने आफूलाई निषेध गरेरै कार्यक्रममा सहभागिताबमट बञ्चित गर्न कार्ड उपलब्ध नगराइएको बताउँछन्। उनले पार्टीको बारम्बारको उपेक्षाले नयाँ निर्णय लिनुपर्ने अवस्थामा पुगेको बताए।

देशभरका शुभचिन्तकको सल्लाह बमोजिम आगामी यात्रा तय गर्ने उनको भनाइ छ। तत्कालै पार्टीबाट अलग्गिने अवस्थामा भने नरहेको उनले प्रष्ट्याए।

उनले पार्टीमा अहिलेको जिम्मेवारी दिँदा आफूसँग कुनै सल्लाह नगरिएको जिकिर गरे। दशौं महाधिवेशनमा समेत निर्वाचन प्रक्रिया लम्ब्याएर आफूलाई प्रतिस्पर्धा गर्न नदिने प्रपञ्च रचिएको स्मरण गर्दै उनले सोही समयदेखिको तुष एमाले नेतृत्वमा रहेको औंल्याए।

उनले भने, ‘यस अघि दशौं महाधिवेशनमा मेराविरुद्ध अनेकौं कदम चालिए र प्रतिस्पर्धाबाट बञ्चित गराउने योजना समेत बनाइयो। त्यस पछि हरेक पार्टीका कार्यक्रमहरुमा निषेधकारी नीति अख्तियार गरिएको छ। ’

नेता रावलले अगाडि थपे, ‘मेरो देशभक्तिपूर्ण अठोट र पार्टीको विधि पद्धति अनुरुप चल्नुपर्ने मान्यताले नेतृत्वबाट पूर्णतया निषेधको रणनीति अपनाइएको छ। ’

उनले पार्टीबाट बाहिरिने अवस्था सिर्जित गरिएको बताउँदै अहिलेसम्म आफू एमालेको सदस्यकै रुपमा रहेको बताए। तत्कालै कुनै ठोस निर्णय लिने अवस्थामा नरहे पनि विगतदेखिको निषेधकारी प्रवृत्ति यथावत रहे आगामी दिनमा सबैको सल्लाह अनुसार अघि बढ्ने जनाए।

यता एमाले भने रावल आफैं पार्टीको जिम्मेवारीबाट भागेको आरोप लगाएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले दिएको जिम्मेवारी वहन नगरेर रावलले कुप्रचार गरेको आरोप लगाए।

‘उहाँले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित हुनुभयो त्यसपछि स्वतः पार्टीको विधान अनुसार सल्लाहकार समिति सदस्यमा मनोनीत गरिएको हो । उनले  भने, ‘तर उहाँले अहिलेसम्म कुनै बैठकमा सहभागिता जनाउनु भएको छैन। उहाँलाई चाहिएको अध्यक्ष थियो त्यसमा पराजित भएपछि पार्टीले दिएको जिम्मेवारी वहन गर्नुपर्‍याे नि!’

उनले अगाडि थपे, ‘सबै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुले सहजै प्रवेश भइरहेको कार्यक्रम स्थलमा उहाँले ‘खेताला’लगाएर कार्ड लिन पठाउनु भएछ। उहाँलाई छुट्टै व्यवस्था गरिदिनुपर्ने ?’

एमालेका प्रचार विभाग प्रमुख गौतमका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पार्टीका सबै तहका नेताहरुलाई सहजै प्रवेशको व्यवस्था मिलाएपनि रावलले अनर्गल प्रचारका लागि आफ्नो प्रतिनिधि पठाएर प्रवेश कार्ड खोजन लगाएका हुन्।

बैठकमा रावल आफ्नै स्वेच्छाले सहभागी नभएको उनले बताए। पार्टीको जिम्मेवारी वहन नगरेरै बाहिर अफबाहपूर्ण प्रचार गरेको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ।डिसी नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार