संवाद छाडेर वाक्युद्धमा ओली-नेपाल

२०८१ बैशाख २३, आईतवार

काठमाडौं : तीन वर्षपछि संवाद शुरु गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच फेरि बोलचाल बन्द भएको छ।

सरकार बनाउने अंक गणित पुर्‍याउनका लागि तीन वर्षपछि ओलीले नेपाललाई उनको घरमै गएर सत्ता गठबन्धनका लागि मनाएका थिए। तर, अहिले ओली र नेपालबीच सार्वजनिक भाषणमा गाली गर्नेबाहेक भेटेर संवाद हुन छाडेको छ। गत फागुन २१ मा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा ओलीले नेपाललाई भेटेर वामपन्थी धारको गठबन्धनमा सहयोग गर्न आग्रह गरेका थिए ।

शनिबार ओलीले एमाले रसुवाको जिल्ला अधिवेशनमा सम्बोधन गर्ने क्रममा नेपाललाई कटाक्ष गर्दै भने– ‘अहिले पनि तपाईंहरूले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्। प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दछन् । प्रधानमन्त्री– प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔँ भनेर । मैले भनेँ, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो। अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो।’

उनले माधव नेपाललाई कसैले मन नपराए पनि आफैंले आफैंलाई प्रधानमन्त्री बनिहाल्छु भन्दै हिँडेको टिप्पणी गरे । विगत एक हप्तादेखि ओलीले नेपालप्रति निरन्तर यस्तै अभिव्यक्ति दिँदै आएका छन् भने नेपालले पनि त्यसको विरुद्धमा जवाफ फर्काउँदै आएका छन्।

२०७४ को निर्वाचनमा कार्यगत एकता गर्दै २०७५ मा पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएका एमाले–माओवादी नेताले २ वर्षमै फुटको बाटो रोजेका थिए । संसद्मा झण्डै दुई तिहाइ प्राप्त गरेको शक्तिशाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनगरेसँगै विवाद चर्किएको थियो। ओली–नेपालबीचको सम्बन्ध सुधारका लागि खुलेको ढोका पुनः बन्द भएको आम कार्यकर्ताले अनुभव गरिसकेका छन्।

नयाँ सत्ता सहकार्यको प्रारम्भसँगै माधव नेपालले प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ गठबन्धनमा सहभागी भएको बताएका थिए। तर, सत्ता सहकार्यको एक महिना नपुग्दै दुई नेताबीचको आन्तरिक समस्या छताछुल्ल हुँदै गएको कार्यकर्ताहरूले गुनासो गरेका छन्। ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार