काठमाडौँ : सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बसेको शनिबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ । कार्यदलको सदस्यसमेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजको बैठक सहमति नजिक पुगेको जानकारी दिएका हुन् ।
‘आजको बैठक सकारात्मक भएको छ,’ बर्तौलाले भने, ‘यसलाई अन्तिम टुंगोमा पुर्याउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग बस्न कार्यदलका सबै सदस्य बालुवाटार जाँदैछौँ । कार्यदलले गरेको प्रगति त्यहाँ राख्नेछौँ । कार्यदल जहाँबाट गठन भएको थियो, त्यहाँ नै पुगेर यसलाई फिनिसिङ गर्छौँ ।’
यता कार्यदलको संयोजक रहेका कानुनमन्त्री पदम गिरीले पनि आज छलफल भएका विषय शीर्ष नेतासामु राखिने जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गिरीले आजको बैठक छानबिन समितिको कार्याविधि तय गर्ने विषयमा निकै महत्त्वपूर्ण भएको जिकिर गरे । बालुवाटार बैठकले नै यसलाई अन्तिम निष्कर्षमा पुर्याउने उनले बताए ।





