काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताएका छन्। दोस्रो स्थापना दिवसको अवसरमा उनले रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको बताएका हुन्।
‘देश तथा विदेशका टोल–टोल वस्ती–वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई घण्टीमा रूपान्तरण गरेर दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं,’ उनले भनेका छन्, ‘२१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तान्यौं। चार मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौं।’
उनले रास्वपा आफ्नो उद्देश्यमा अडिग रहेको बताएका छन्। ‘हामी गन्तव्यमा स्पष्ट छौं। कुरा बाटोको हो; बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ। आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षा सहितका अग्ला–अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिडिरहेका छौं,’ उनले भने।
कैयन् कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन। वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौं,’ उनले भनेका छन्। विश्वास गर्ने एक दुई जना मात्र हुँदा पनि हिँड्ने आँट गरेको उनले स्मरण गरेका छन्। आज पार्टीसँग लाखौंलाख शुभेच्छुकहरू रहेको पनि बताएका छन्।
‘दुई वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरू आज रास्वपा खस्कँदो छ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही ‘टक शो’मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् तर हामी हाम्रो यात्रामा अविचलित छौं,’ उनले भनेका छन्।
उनले घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि बसेको पनि बताएका छन्। ‘बाँकी काम हामी गर्छौं तपाईंहरू पीर नलिनूस्, चिन्ता नलिनूस्। सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना!,’ उनले भनेका छन्।





