काठमाडौं : सानिमा जिआइसी इन्स्योरेन्सको नाफा झन्डै २१ प्रतिशत बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले गत आवमा ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २०.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २७ करोड ३५ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको व्यापार बढेसँगै नाफामा पनि बढोत्तरी देखिएको हो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ३६.५२ प्रतिशत बढेर ७५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने १९.४४ प्रतिशत बढेर २ अर्ब ५१ करोड १६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीले २ अर्ब १० करोड २९ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको थियो ।
हाल कम्पनीको प्रतिसेयर आम्दनी (इपिएस) १६ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ३१ पैसा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा ५९ करोड ३८ लाख रुपैयाँ राखेको छ । महाविपत्ति कोषमा भने ३ करोड ८१ लाख र रिटेण्ड अर्निङ १९ करोड ४५ लाख रुपैयाँ रहेको छ ।





