काठमाडौँ : प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावनाविपरीत भएका अभ्यासमा सुधारको खाँचो औँल्याएका छन्।
नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभई नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए ।
‘समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन । जान पनि हुन्न । राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ,’ सभापति खतिवडाले भने, ‘राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ ।’
संविधानले परिकल्पना गरेअनुरूप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल. प्रवाहमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति खतिवडाले पहुँच र प्रभावका आधारमा एउटै व्यक्तिलाई धेरैपटक समानुपातिक प्रणालीमा ल्याइँदा त्यही समुदायको अर्को व्यक्ति मारमा पर्ने पक्षलाई हेक्का राख्न जरुरी छ भने ।





