काठमाडौँ : गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन्।
गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ। बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो। उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ।
घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ।
घटनामा सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो। ट्रकको ठक्करबाट एक युवतीको नाम दिँदै निधन भएको विवरण सञ्चारमाध्यमलाई प्रहरीले दियो। घटनास्थलमा दोलखा घर भएका शम्भु नेपालीले मृतक आफ्नो बहिनी भएको बताएपछि प्रहरीले त्यसैलाई आधार मानेर सनाखत गरेको थियो। सञ्चारमाध्यममा आफ्नो नाम आएपछि ती युवती आफै प्रहरीमा उपस्थित भएपछि प्रहरी थप अन्योलमा परेको थियो। प्रहरीले आफ्नो बहिनी भनेर गलत सनाखत गर्ने नेपालीलाई पक्राउ गरेर कारबाहीको तयारी गरेको छ।
सुरुमा महिलाको शव भनेको प्रहरीले घट्नाको पाँच घण्टापछि स्कुटरमा रहेको कागजपत्रको आधारमा मृतक पुरुष भएको पहिचान गरेको थियो। सोही कागजपत्रको आधारमा मृतकका आफन्तले बिहीबार राती नै सनाखत गरेका थिए। प्रहरी नायब उपरीक्षक कार्कीले शव क्षतविक्षत अवस्थामा रहेकाले तत्कालै महिला वा पुरुष को हो भनेर पहिचान गर्न नसकेको बताए। घट्नास्थलमा भएको तनावग्रस्त अवस्थामा ट्रक मुनिबाट शव झिक्न नसक्दा पनि पहिचानमा ढिलाइ भएको उनको भनाइ छ।
मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा सनाखतमा समस्या भएको र सीसीटीभी फुटेज हरेपछि मात्रै प्रष्टरुपमा मृतक पुरुष भएको पुष्टी भएको उनको भनाइ छ। प्रर्दशनकारीले प्रहरी माथि आक्रमण गरेर दोहोरो झडप भएपछि शव झिक्न नसकेपछि क्रेन ल्याएर ट्रक तानेर शव झिक्न खोजेको थियो। प्रदर्शनकारीले क्रेनसमेत ल्याउन नदिएपछि शव पहिचान गर्न ढिलाइ भएको उनको भनाइ छ।





