काठमाडौँ : एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी भवन निर्माणका विषयलाई लिएर भ्रम फैलाएको उल्लेख गर्दै यसमा लेनदेन नभएको बताएका छन् ।
‘नेकपा (एमाले)को केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेकखालका भ्रम,अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध बिष वमन गर्ने काम भइरहेको छ,’ उनले मंगलबार पठाएको प्रेस नोटमा भनिएको छ, ‘तथ्य के हो, एकजना दानवीर मिनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो । तथ्य नवुझी बदनाम नगरौं ।’
पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने र त्यहाँ भवन निर्माण गर्न शिलान्यास गरिएको उल्लेख गर्दै यसमा पार्टी सदस्यको अपमान नभएको दाबी गरे । ‘पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्यो <’ उनको तर्क छ, ‘सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पव्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौं, सोसल मिडियाको दुरुपयोग नगरौं ।’
पार्टी मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।





