काठमाडौं : रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले झाले बुधबार एक विज्ञप्ति जारी गर्दै अहिलेको दुईतिहाइको सरकार कामचलाउ जस्तो भएको दाबी गरेका छन् ।
सरकारको तीन महिने अवधि पूर्ण मूल्यांकनको आधार नभए पनि यसबीचमा घोषित प्रतिबद्धताहरु पूरा गर्नेतर्फ सरकारले प्रारम्भिक संकेतसम्म देखाउन नसकेको रास्वपाको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ । मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको दरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ । संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुनेगरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो, तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’
संवादहीनतामा लोकतन्त्र फस्टाउन नस्क्ने भन्दै रास्वपाले शिथिल अर्थतन्त्र, कमजोर विपद् व्यवस्थापन, उकुसमुकुसपूर्ण सामाजिक परिस्थिति र युवाहरुमाझ निराशा फैलिएको बेला नागरिक समाज र जनप्रतिनिधिहरु मौन बस्न नमिल्ने औंल्याएको छ ।






